काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहलाई नेपाल सरकारका बहालवाला सचिव कृष्णहरि पुष्करले राजदूत बनाउन सहयोग माग्दै मोबाइल सन्देश पठाएको खुलेको छ ।
उपराष्ट्रपतिको कार्यालयमा कार्यरत सचिव पुष्करलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । प्रहरीले सचिव पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको आदेशमा नियन्त्रणमा लिएको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले पुष्करलाई राति मात्रै छोडेको थियो ।
सचिव पुष्करलाई नियन्त्रणमा लिएर छोड्नुका पछाडि प्रधानमन्त्री शाहलाई राजदूत पदका विषयमा लेखेको सन्देश रहेको छ ।प्रहरी स्रोतका अनुसार सचिव पुष्करले आफ्नो सम्भावना मुख्यसचिवमा नरहेकाले राजदूत बनाइमाग्न भन्दै मोबाइलमा सन्देश पठाएका थिए ।
प्रधानमन्त्रीलाई सचिव पुष्करले लेखेको सन्देशमा आवश्यक सहयोगको अपेक्षा रहेको उल्लेख छ । 'सम्माननीय प्रधानमन्त्रीज्यू, नमस्कार । नेपाल सरकारका सचिवको कार्यकाल पाँच वर्षको हुने व्यवस्था छ । सम्माननीयज्यू, यसरी हेर्दा मुख्यसचिव पदमा हजुरको विशेष ध्यान भए मात्रै, नत्र कुनै सम्भावना छैन हजुर । यही भएर मेरो सेवा निवृत्ति आगामी असार २४ गते सुनिश्चित छ,' पुष्करले प्रधानमन्त्रीलाई लेखेका थिए, 'यसैबीच राजदूत पदका लागि विज्ञापन हेरेँ, हजुर । यस सम्बन्धमा हजुरको जानकारी, मार्गदर्शन तथा आवश्यक सहयोगका लागि विनम्र अनुरोध गर्दछु ।'